समाचार
किसान बहुउद्देश्यीय सहकारीद्वारा आफ्ना सदस्य सुविधा वितरण
प्रशासक | २०८३ बैसाख २३ गते २०:२७ मा प्रकाशित
अक्षर साथी
लम्की, बैशाख २३
कैलालीको लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई सुविधा वितरण गरेको छ।
संस्थाकी शेयर सदस्य लम्कीचुहा नगरपालिका–५ बस्ने सरस्वती दमाईका श्रीमान् प्रकाश दमाईको ०८२ फागुन २८ गते निधन भएको थियो। यसैगरी बुधबार चौँरीमा सदस्य सुरक्षा कार्यक्रमअन्तर्गत मृतक प्रकाश दमाईको परिवारलाई काजक्रिया सुविधा वापत ८ हजार र कर्जा बीमा सुविधा वापत ५ लाख ५२ हजार ६२ रुपैयाँ सहित जम्मा ५ लाख ६० हजार ६२ रुपैयाँको चेक हस्तान्तरण गरिएको हो।
लम्कीचुहा वडा नं. ५ की वडा अध्यक्ष माया बिष्ट, शेयर सदस्य र स्थानीयको सहभागितामा सुविधा वापतको चेक हस्तान्तरण गर्दै किसान बहुउद्देश्यीय सहकारी संस्थाका नीति अनुपालन विभागका प्रमुख दिपकराज ढुङ्गानाले शेयर सदस्य सरस्वती दमाईलाई आफू एक्लो भएको महसुस नगर्न अनुरोध गर्दै संस्था उन्नति र प्रगतिमा सहयोग गर्ने बताए।
‘घरको आम्दानी गर्ने व्यक्तिलाई गुमायौं, हाम्रो सबै थोक गुम्यो, अब केही बाँकी रहेन, हामी एक्ला भयौं भनेर कहिल्यै महसुस नगर्नुहोला,’ श्रद्धाञ्जली सभा तथा सुविधा वितरण कार्यक्रमका सभाअध्यक्ष समेत रहेका ढुङ्गानाले भने, ‘९० हजार सदस्य आबद्ध भएको गर्विलो संस्था तपाईंसँग भएका कारण त्यस्तो केही सोच्नु पर्दैन। हामी तपाईँको उन्नति र प्रगतिमा सहयोग गर्नेछौं।’
त्यस्तै कार्यक्रमकी प्रमुख अतिथि तथा लम्कीचुहा वडा नं. ५ की वडा अध्यक्ष माया बिष्टले किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यको हित र सुरक्षाका लागि सञ्चालन गरेको कार्यक्रमप्रति धन्यवाद व्यक्त गर्दै अब किसानलाई खेतीपातीमा जोड्दै उनीहरूको आयआर्जनमा वृद्धि गर्नुपर्ने बताइन्।
सदस्य सुरक्षा कार्यक्रमअन्तर्गत लम्की शाखाबाट मात्रै किसान सहकारीले सदस्य काजक्रिया खर्च सुविधामा ६१ जना, सदस्य श्रीमान् काजक्रिया खर्च सुविधामा १ सय ९१ जना, सदस्य मृत्यु कर्जा मिनाहा सुविधामा ३६ जना र सदस्य श्रीमान् मृत्यु कर्जा मिनाहा सुविधामा ८३ जनालाई गरी २ करोड १८ लाख ८ हजार ८८ रुपैयाँ बराबरको सुविधा तथा राहत वितरण गरिसकेको छ।