किसान सहकारी र ओम कृष्ण अस्पतालबीच सम्झौता
प्रशासक | २०८३ भाद्र १७ गते १८:४४ मा प्रकाशित
अक्षर साथी
लम्की, भदौ १७
कैलालीको लम्कीचुहा नगरपालिका–१, रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र टीकापुर नगरपालिका–१, स्थित ओम कृष्ण अस्पताल तथा रिसर्च सेन्टर प्रालिबीच स्वास्थ्य सेवा तथा उपचारमा सहुलियत प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ ।

‘स्वस्थ सदस्य, समृद्ध समुदाय’ भन्ने उद्देश्यसहित बुधवार आयोजित एक कार्यक्रमकाबीच दुवै संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतासँगै लम्कीचुहा र टीकापुर नगरपालिका, जानकी तथा जोशीपुर गाउँपालिका र बर्दियाको राजापुर नगरपालिका क्षेत्रमा बसोबास गर्ने किसान सहकारीका २३ हजारभन्दा बढी शेयर सदस्य तथा उनीहरूका एकाघरका आश्रित परिवारले स्वास्थ्य सेवामा सहुलियत पाउने भएका छन् ।
सम्झौता अनुसार सहकारीका शेयर सदस्य तथा उनीहरूका एकाघरका परिवारले ओम कृष्ण अस्पतालबाट उपचार सेवा लिँदा सेवाको प्रकृतिअनुसार न्यूनतम १० प्रतिशतदेखि अधिकतम २० प्रतिशतसम्म छुट पाउनेछन् । अस्पतालले जनरल बेड तथा क्याबिनसहितको भर्ना सेवा, आइसियू, एनआइसियू, सामान्य तथा जटिल शल्यक्रिया, विभिन्न ल्याब परीक्षण, भिडियो एक्सरे, एक्सरे र अस्पतालको आफ्नै फार्मेसीबाट औषधि खरिदमा समेत सहुलियत उपलब्ध गराउनेछ ।
त्यस्तै, अस्पतालको ओपिडी दर्ता तथा एमबिबिएस चिकित्सकको परामर्श शुल्क अधिकतम एक सय ५० रुपैयाँ कायम गरिएको छ । नियमित फलोअपका लागि भने बिरामीले कुनै शुल्क तिर्न नपर्ने व्यवस्था गरिएको छ।
सहुलियत सुविधा लिन चाहने सदस्यले अस्पतालमा शुल्क भुक्तानी गर्नुअघि किसान सहकारीले जारी गरेको आधिकारिक शेयर सदस्य परिचयपत्र वा सम्बन्धित शाखा कार्यालयको सिफारिस पत्र पेस गर्नुपर्नेछ। यसबाट सहकारीका सदस्य तथा उनीहरूका परिवारले उपचार खर्चमा प्रत्यक्ष राहत पाउने अपेक्षा गरिएको छ ।
सम्झौता पत्रमा हस्ताक्षरपछि ओम कृष्ण अस्पतालका प्रबन्ध निर्देशक कृष्णप्रसाद उपाध्याय (बजगाईं) ले सहकारीसँगको सहकार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले समुदायमा आधारित सहकारीका सदस्यलाई सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पाउनु अस्पतालका लागि पनि महत्वपूर्ण रहेको बताउनुभयो ।
अस्पतालले अत्याधुनिक प्रविधि तथा उपकरण र विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा स्वास्थ्य सेवा प्रदान गरिरहेको उल्लेख गर्दै उपाध्यायले सम्झौताबाट किसान सहकारीका सदस्यले उपचारमा वास्तविक राहत पाउने विश्वास व्यक्त गर्नुभयो ।
किसान बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले सहकारीको उद्देश्य सदस्यसँग वित्तीय कारोबारमा मात्र सीमित नराखी उनीहरूको सामाजिक सुरक्षा र स्वास्थ्यमा समेत सहयोग पु¥याउनु रहेको बताए । स्वास्थ्य उपचारमा हुने खर्च घटाउन अस्पतालसँग सहकार्य गरिएको उल्लेख गर्दै उहाँले सम्झौताबाट प्राप्त हुने सहुलियतको अधिकतम लाभ लिन सम्पूर्ण सदस्य तथा उनीहरूका परिवारलाई आग्रह गर्नुभयो ।
सम्झौता अनुसार सहकारी र अस्पतालको संयुक्त पहलमा समुदायस्तरमा निःशुल्क स्वास्थ्य शिविर, मातृशिशु कल्याणसम्बन्धी कार्यक्रम तथा विभिन्न स्वास्थ्य सचेतनामूलक गतिविधिसमेत सञ्चालन गरिने भएको छ । यसले सहकारीका सदस्यलाई उपचारमा सहुलियतसँगै स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी र सेवामा पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रसँगै लुम्बिनी प्रदेशअन्तर्गत बर्दियाको राजापुर नगरपालिका कार्यक्षेत्र रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थामा हाल कुल ७६ हजार ८८४ जना शेयर सदस्य आबद्ध रहेको संस्थाले जनाएको छ। तीमध्ये सम्झौताबाट तत्काल प्रत्यक्ष लाभान्वित हुने सदस्य तथा उनीहरूका परिवारको संख्या २३ हजारभन्दा बढी रहेको जनाइएको छ ।
















