लम्कीमा विद्युतको ‘आउने जाने’ समस्या, कारण के हो ?
प्रशासक | २०८३ श्रावण २८ गते १०:५० मा प्रकाशित
अक्षर साथी
लम्की, साउन २८
कैलालीको लम्की क्षेत्रमा पछिल्लो समय छिनछिनमा विद्युत जाने र आउने समस्या बढेपछि उपभोक्ता हैरान भएका छन् । एकतिर खलखली पसिना निकाल्ने गर्मी त्यसै छिनछिनमा विद्युत सेवा अवरुद्ध हुने गरिपछि दैनिकी कष्टकर बनेको लम्की क्षेत्रका उपभोक्ताको गुनासो रहेको छ । वर्षा, हावाहुरी वा प्राविधिक समस्या हुँदा विद्युत सेवा आपूर्ति अवरुद्ध हुन सक्छ तर, सामान्य अवस्थामा पनि निरन्तर जस्तो विद्युत सेवा पटक पटक अवरुद्ध हुने गरेको स्थानीयले बताउने गरेका छन् । 
आखिर लम्की क्षेत्रमा विद्युत पटक–पटक किन अवरुद्ध हुन्छ ? समस्या विद्युत उत्पादनमा हो वा प्रसारण तथा वितरण प्रणालीमा ? र विद्युत आपूर्ति नियमित बनाउन नेपाल विद्युत प्राधिकरणले के गरिरहेको छ? भन्ने विषयमा हामीले स्थलगत रूपमा जानकारी लिएका छौँ ।
यसै क्रममा नेपाल विद्युत प्राधिकरण लम्की युनिटमा पुगेर विद्युत आपूर्तिमा देखिएको समस्याका प्राविधिक कारण र समाधानका प्रयासबारे जानकारी लिइएको छ ।
नेपाल विद्युत प्राधिकरण लम्की युनिटका इन्चार्ज रामदत्त जोशीका अनुसार लम्की क्षेत्रमा विद्युत अवरुद्ध हुनुमा एउटै कारण नभई वितरण प्रणालीमा देखिने विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारण जिम्मेवार छन् । नियमित मर्मतसम्भार, आकस्मिक प्राविधिक समस्या, फ्युज हुने, विद्युत लाइनमा समस्या आउनु तथा आवश्यकताअनुसार लाइन सटडाउन गर्नुपर्ने अवस्थाका कारण विद्युत आपूर्ति अवरुद्ध हुने गरेको उनले बताए ।
लम्की क्षेत्रमा ११ केभी क्षमताका ६ वटा फिडर सञ्चालनमा रहेका छन् । फिडर भनेको विद्युत वितरण केन्द्र वा सबस्टेसनबाट विभिन्न क्षेत्रमा विद्युत पु¥याउने मुख्य वितरण लाइन हो । एउटा फिडरमा समस्या आएमा त्यससँग जोडिएका धेरै क्षेत्रमा एकैपटक विद्युत आपूर्ति प्रभावित हुन सक्छ । त्यसैले फिडर, ट्रान्सफर्मर, पोल, कन्डक्टर, इन्सुलेटर, जम्पर, फ्युजलगायत वितरण प्रणालीका विभिन्न उपकरणमा देखिने सामान्य प्राविधिक समस्याले पनि ठूलो क्षेत्रको विद्युत आपूर्तिमा असर पार्न सक्ने प्राधिकरणको भनाइ छ ।
विशेषगरी वर्षायाममा हावाहुरी, चट्याङ, रुखका हाँगा विद्युत तारमा ठोक्किनु, इन्सुलेटरमा समस्या आउनु तथा लाइनमा क्षति पुग्नुजस्ता कारणले आकस्मिक रूपमा विद्युत अवरुद्ध हुन सक्छ । त्यस्तै, वितरण प्रणालीमा कुनै उपकरण बिग्रिएमा त्यसलाई सुरक्षित रूपमा मर्मत गर्न विद्युत लाइन बन्द गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा प्राविधिक टोलीले समस्या पहिचान गरी आवश्यक मर्मत गरेपछि मात्रै विद्युत पुनः सञ्चालन गर्ने गर्छ ।
त्यस्तै, ११ केभी फिडरमा आएको समस्या पत्ता लगाउन प्राविधिक टोलीले सम्बन्धित लाइन तथा उपकरण परीक्षण गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा कुन स्थानमा समस्या आएको हो भन्ने पहिचान गर्न समय लाग्न सक्छ । समस्या पहिचान भएपछि प्रभावित भागलाई छुट्याएर बाँकी क्षेत्रमा विद्युत आपूर्ति सञ्चालन गर्ने प्रयास गरिन्छ। तर प्राविधिक संरचनाको अवस्था र समस्या गम्भीर भएमा मर्मतमा थप समय लाग्न सक्ने प्राधिकरणले जनाएको छ ।
लम्की क्षेत्रमा विद्युतको माग बढ्दै जानु पनि वितरण प्रणालीका लागि चुनौती बन्दै गएको छ । जनसंख्या वृद्धि, नयाँ घर तथा व्यावसायिक संरचना थपिनु, उद्योग तथा अन्य विद्युतीय उपकरणको प्रयोग बढ्नुका कारण विद्युतको लोड क्रमशः बढिरहेको छ । मागअनुसार वितरण संरचनाको क्षमता विस्तार तथा उपकरणको स्तरोन्नति हुन नसकेमा लाइनमा बढी भार पर्ने र त्यसले प्राविधिक समस्या निम्त्याउन सक्ने विद्युत क्षेत्रका जानकारहरू बताउँछन् ।
विद्युत आपूर्ति अवरुद्ध हुँदा सर्वसाधारणको दैनिक जीवनसँगै व्यवसाय र उद्योगसमेत प्रभावित हुने गरेका छन् । विद्युतमा निर्भर पसल, होटल, वर्कसप, मिल, डेरी, सञ्चारमाध्यम, बैंक तथा वित्तीय संस्था र कार्यालयको नियमित काम प्रभावित हुन्छ । घरायसी उपभोक्ताका लागि पनि पानी तान्ने मोटर, फ्रिज, पंखा, टेलिभिजन, इन्टरनेट र अन्य विद्युतीय उपकरण सञ्चालनमा समस्या हुने गरेको छ ।
बारम्बार विद्युत आउने–जाने हुँदा विद्युतीय उपकरणमा समेत असर पर्न सक्ने उपभोक्ताको चिन्ता छ। विशेषगरी भोल्टेजमा उतारचढाव आएमा संवेदनशील विद्युतीय उपकरणमा समस्या आउन सक्छ। त्यसैले विद्युत आपूर्ति पुनः सञ्चालन गर्दा प्रणाली स्थिर भएपछि मात्रै नियमित लोड सञ्चालन गर्नु र आवश्यक सुरक्षा उपकरण प्रयोग गर्नु उपभोक्ताका लागि पनि महत्वपूर्ण हुन्छ।
युनिट इन्चार्ज जोशीले विद्युत आपूर्ति नियमित बनाउन प्राधिकरणको स्थानीय युनिट मात्रै नभई सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेको बताए । उनका अनुसार विद्युत प्रणालीमा समस्या आउँदा प्राविधिक टोलीले तत्काल समस्या पहिचान गरी मर्मत तथा पुनःस्थापनाको काम गर्दै आएको छ ।
उनले आगामी दिनमा आवश्यक सामग्री, उपकरण तथा स्रोतसाधनको व्यवस्थापन गर्दै वितरण प्रणालीमा देखिने समस्या न्यूनीकरण गर्न प्राधिकरण केन्द्रित रहेको बताए। विद्युतको माग र वितरण प्रणालीको अवस्थाअनुसार आवश्यक संरचना सुधार, मर्मतसम्भार तथा प्राविधिक व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेतर्फ प्राधिकरणले काम गरिरहेको बताए ।
प्राधिकरणले समस्या समाधानमा आफूहरू केन्द्रित रहेको बताए पनि तत्काल राहतसँगै दीर्घकालीन समाधानको अपेक्षा यस क्षेत्रका उपभोक्ताको रहेको छ ।
















