समाचार
रुखको घाँस काट्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते बिमलाको उपचारमा आर्थिक संकट
प्रशासक | २०८३ भाद्र १३ गते १४:३७ मा प्रकाशित
अक्षर साथी
लम्की, भदौ १३
कैलालीको लम्कीचुहा नगरपालिका–२ गणेशपुरकी ३२ वर्षीया बिमला बजगाईँ तिमिल्सेना रुखको घाँस काट्ने क्रममा विद्युत् करेन्ट लागेर गम्भीर घाइते भएपछि उनको उपचारमा आर्थिक संकट देखिएको छ ।
गणेशपुर निवासी ओमप्रकाश तिमिल्सेनाकी श्रीमती बिमला यही भदौ ७ गते रुखमा चढेर घाँस काट्ने क्रममा रुखको छेउबाट प्रवाह भइरहेको ३३ केभी विद्युत् लाइनको सम्पर्कमा आएपछि करेन्ट लागेर गम्भीर घाइते भएकी हुन् ।
करेन्ट लागेपछि उनलाई उपचारका लागि कीर्तिपुरस्थित कीर्तिपुर जलन अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको दुवै हात र एउटा खुट्टा गुमाउनुपरेको परिवारले जनाएको छ । अर्को खुट्टामा समेत गम्भीर चोट रहेकाले उपचार भइरहेको र थप शल्यक्रिया तथा लामो समयसम्म उपचार गर्नुपर्ने अवस्था रहेको जनाइएको छ ।
अचानक भएको दुर्घटनाका कारण परिवारमाथि उपचार खर्चको ठूलो भार थपिएको छ । बिमलाको उपचारमा ठूलो रकम आवश्यक पर्ने भए पनि परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचार खर्च जुटाउन कठिन भइरहेको परिवारले जनाएको छ ।
झनै कठिन अवस्था त के छ भने बिमलाका श्रीमान् ओमप्रकाशको समेत विगतमा दुवै हात र एउटा खुट्टा भाँचिएको परिवारले जनाएको छ । श्रीमान् स्वयं पनि शारीरिक समस्याबाट गुज्रिरहेको अवस्थामा श्रीमतीको गम्भीर उपचारका लागि आवश्यक खर्च जुटाउन परिवारलाई थप समस्या परेको हो ।
बिमलाको उपचार लामो समयसम्म चल्ने भएकाले परिवारले सहयोगका लागि सबैसँग अपिल गरेको छ । परिवारले स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरूलाई आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरिदिन अनुरोध गरेको छ ।
‘अहिले हाम्रो परिवार निकै कठिन अवस्थामा छ । उपचारका लागि ठूलो रकम आवश्यक परेको छ । सानो सहयोगले पनि बिमलाको उपचारमा ठूलो राहत पुग्नेछ,’ परिवारले सहयोगका लागि आग्रह गर्दै भनेको छ ।
परिवारका अनुसार बिमलाको उपचारमा सहयोग गर्न चाहने व्यक्तिले उनका श्रीमान् ओमप्रकाश तिमिल्सेनासँग सम्पर्क गर्न सक्नेछन् । तिमिल्सेनको मोबाइल नंम्बर ९७४०२७४०३८ सम्पर्क गर्न सकिने छ ।