समाचार
लम्कीचुहा अस्पताल चाँडो सञ्चालनमा ल्याउनु पर्छ : पूर्व नगर प्रमुख बजगाई
प्रशासक | २०८२ चैत्र २३ गते १३:४६ मा प्रकाशित
अक्षर साथी
लम्की, चैत २३
कैलालीको लम्कीचुहामा रहेको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने भइरहेको विवादमा पूर्व नगर प्रमुख महादेव बजगाईले प्रतिक्रिया दिएका छन् ।
सोमबार लम्कीमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै पूर्व नगर प्रमुख महादेव बजगाईले लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा सञ्चालनको विषयमा भइरहेको विवादको अन्त्य गर्दै अस्पताल चाँडो सञ्चालनमा ल्याउनु पर्ने बताएका छन् ।
‘लम्कीचुहा सहितका आसपासका क्षेत्रका जनताले घरआँगनमै गुणस्तरीय स्वास्थ्य सेवा पाउन भने उद्देश्यले हामीले तत्कालीन अवस्थामा बलिया स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शैय्याको लम्कीचुहा अस्पतालको स्थापना गरेका थियौं । त्यसका साथै थप विशिष्ट सेवा सहित प्रादेशिक अस्पताल सञ्चालन गर्ने भन्दै चुहामा ठूला भौतिक संरचना तयार समेत गरिसकेका थियौं ।’, पूर्व नगर प्रमुख बजगाईले भने, ‘यसरी हामीले जनताको घरआँगनमै स्वास्थ्य सेवा दिएका थियौं । त्यस्तै हामीले तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टसँग गराएको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णयको कार्यान्वयनका विषयमा सञ्चालक समितिलाई जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयमा भइरहेको अनावश्यक विवादको अन्त्य गर्नुपर्छ । अस्पताल चाँडो सञ्चालनमा ल्याउनुपर्छ ।’
त्यस्तै पूर्व नगर प्रमुख महादेव बजगाईले आफ्नो कार्यकालमा लम्कीचुहा प्रादेशिक अस्पतालका विषयमा स्रोतको सुनिश्चिततादेखि लिएर थुप्रै निर्माणका कार्य भइसकेको बताउँदै अब त्यसको कार्यान्वयनमा ढिलाइ गर्न नहुने बताए ।
लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा सञ्चालनमा ल्याउने विषय अनिर्णयको बन्दी हुँदा लम्कीचुहा प्रादेशिक अस्पताल बन्ने सम्भावना गुम्न सक्ने र त्यसले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारबाट बञ्चित गर्न सक्ने तर्फ पूर्व नगर प्रमुख बजगाईले सचेत गराएका छन् ।