समाचार
मंगलबार सुदूरपश्चिममा सार्वजनिक बिदा
प्रशासक | २०८२ फाल्गुन २५ गते १९:३४ मा प्रकाशित
अक्षर साथी
लम्की, फागुन २५
राना थारू समुदायले मनाउने मौलिक सांस्कृतिक पर्व खखडेहराका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले फागुन २६ गते मंगलबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राना थारू समुदायको परम्परागत सांस्कृतिक पर्वको संरक्षण र सम्मानका लागि हरेक वर्ष खखडेहरा पर्वका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिँदै आएको छ ।
खखडेहरा पर्व के हो ?

खखडेहरा सुदूरपश्चिम प्रदेशका विशेषगरी कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू समुदायले मनाउने महत्वपूर्ण पर्व हो । यो पर्वलाई राना थारू समुदायमा होली पर्वको अन्तिम दिन अर्थात् समापनको प्रतीकका रूपमा मनाउने चलन रहदै आएको छ ।
राना थारूको धार्मिक एवं सांस्कृति महत्व बोकेको खखडेहरा पर्वको आफ्नै मौलिकता रहेको छ । खखडेहरा पर्वका दिन बिहानै गाउँभरिका मानिसहरु भेला भएर खखडेहरा फुटाउन गर्छन् भने आफ्नो समुदायका नागरिकहरुको रोगब्याधी नलागोस् भनेर गाउँबाहिर गएर परम्परागत शैलीमा पूजासमेत गर्ने प्रचलन छ ।
राना थारू समुदायमा एक महिनासम्म होली मनाउने प्रचलन छ । फागू पूर्णिमादेखि पम्परागत शैलीमा एक महिना राति होली खोलिन्छ । खखडेहरा पर्वका दिन बिहानै गाउँभरिका मानिसहरु खखडेहरा फुटाउन जान्छन् । खखडेहरन फुटाउन जाँदा गाग्रो, लोटा, खपटेलका टुक्रा, माटोको मट्याङग्रा र सात प्रकारको अन्न, सुकेको गोवर आदि आवश्यक पर्छ ।
सांस्कृतिक महत्व
खखडेहरा पर्व राना थारू समुदायको सांस्कृतिक पहिचान, सामाजिक एकता र परम्पराको संरक्षणसँग जोडिएको महत्वपूर्ण पर्व मानिन्छ । यस दिन समुदायका मानिसहरू भेला भएर पुराना संस्कार र परम्परालाई निरन्तरता दिने प्रयास गर्ने गर्छन् ।